Sindhul Dainik

यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

Advertisement

२३ फाल्गुन, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजिनकगर्द नयाँ गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा १९ मिनेटभन्दा लामो भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा फु गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो । म त्यसो भन्दिन । किनकी यो फु पनि गर्नु पर्दैन ।’

कुरा नयाँ गठबन्धन ढलोस् भन्नेमा आफू नरहेको स्पष्टीकरण दिँदै थापाले आफूहरुले राम्रो गरोस् भनेर शुभेच्छा राखे पनि गठबन्धन निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्नै नसक्ने खालको देखिएको टिप्पणी गरेका छन् ।

‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन । यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ’, उनले भने ।

महामन्त्री थापाले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुको कारण कांग्रेस नभएको पनि उनको दाबी छ ।

कांग्रेसले काम गर्न नदिएको, महासमिति बैठकमा व्यक्त विचार र माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबारे भएको टिप्पणी आदि बहानाबाजी मात्रै भएको उनले बताए ।

एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको बताए ।

बरु कांग्रेस समेतको गठबन्धनमा निश्चित समयपछि सरकारको नेतृत्व छाड्नुपर्ने भयले माओवादीले नयाँ समीकरण बनाएको उनको भनाइ छ ।

महामन्त्री थापाले भनेका छन्, ‘गठबन्धन अहिले फागुनमा टुट्यो, फागुनमा नभए चैतमा टुट्थ्यो, चैतमा नभए जेठमा टुट्थ्यो, जेठमा नभए असारमा टुट्थ्यो । त्यसैले कुनै न कुनै बाहना बनाएर आफूलाई केन्द्रमा राखेर माओवादी केन्द्रका नेताले यो दुर्घटनामा लानुहुन्थ्यो । त्यसकारण यसमा अलमलिनुपर्दैन ।’

यो गठबन्धन राजनीतिक स्थायीत्वका लागि नभई स्वार्थमा टिकेको थापाको भनाइ छ । ‘यथार्थमा गठबन्धन कुनै राजनीतिक स्थायीत्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो’, उनले भनेका छन्, ‘भागबण्डा नमिल्ना साथै भोलि कुनै पनि बेला भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने प्रष्ट छ ।’

महामन्त्री थापाले २०७९ को चुनावमा गठबन्धन गरेकाले २०८४ सम्म आफूहरु गठबन्धन टिक्नुपर्छ भनेर इमान्दार रहेको तर माओवादीले नै छाडेपछि कांग्रेस मुक्त भएको उल्लेख गरेका छन् ।

‘हाम्रा निम्ति पनि अब सबै खालका विकल्पहरु जायज भएका छन्’, थापाले भनेका छन्, ‘त्यसैले संसदमा कसैको पनि बहुमत नपुगेको, कुनै एउटा दलले मात्रै बहुमत पुर्‍याउन नसकेको यो परिस्थितिमा कांग्रेस पार्टीले के गर्नुपर्छ, के के गर्न सक्छ, के–के गर्न हुन्छ भन्नेतर्फ हामीहरु सचेत छौं । जे गर्नुपर्ने हो त्यो कुराहरु गर्छौं ।’

प्रदेशको सरकारहरु बन्ने र भत्किनेक्रम कसरी भइरहेको छ भन्ने समेत नजिकबाट नियालिरहेको भन्दै उनले प्रदेश सरकारमा पनि जे गर्नु उपयुक्त हुन्छ त्यो कुराहरु कांग्रेसले गर्ने बताए ।

संघीय सरकार कसरी बन्छ भन्ने अझै नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनी थप्छन्, ‘यो सरकार बन्छ बन्दैन, कसरी बन्छ, के बन्छ त्यो पनि हेरौंला ।’

साथै, महामन्त्री थापाले राजनीतिलाई अस्थिर बनाइराख्ने शक्तिलाई अब बोकेर हिँड्न नहुने पनि बताए । ‘हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिले च्याँखे थापिराख्ने यो शक्तिलाई अब ठीक ठाउँमा पुर्‍याउनुपर्छ’ उनले भने, ‘यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने, कसरी समझदारी बनाउने भन्ने तर्फ सचेत छौं र हामी यसमा काम गर्छौं ।’

आफूहरु चुनावअघि गठबन्धन गर्न हुँदैन भन्ने विषयलाई नै स्थापित गरेर अगाडि बढ्ने उनको भनाइ छ । यसका लागि च्याँखे थाप्ने दलहरुलाई बन्द गर्न कानुनी र संवैधानिक उपचार समेत खोजिने उनको चेतावनी छ ।

‘निर्वाचन अगाडिको गठबन्धनले राजनीतिलाई भ्रष्ट गराएको छ । अब यो बाटो हिँड्न हुँदैन’, महामन्त्री थापा भन्छन्, ‘निर्वाचनसम्बन्धी कानुनमा काम गरौं । संवैधानिक रुपमा काम गरौं । च्याँखे थाप्ने पार्टीलाई बन्द गर्न के–के गर्नुपर्छ त्यो काम गरौं ।’

कांग्रेसका कतिपय नेता, कार्यकर्तामा कम्युनिस्टहरु मिलेर चुनावमा गए के हुन्छ भन्ने प्रश्न रहेको उल्लेख गर्दै थापाले यस्तो प्रश्नमा नअलमलिन आग्रह गरे ।

‘कम्युनिस्ट पार्टीहरुबीच प्रेम भएको, विवाह भएको, डिभोर्स भएको देखेको हो । दुईवटा पाइलट भएको पनि हेरेको हो । अब कांग्रेसले कम्युनिस्ट मिले के होला भनेर सोच्यो भने हामी खोक्रो हुन्छौं । जो जो मिले मिल्छ, कांग्रेस आफ्नो ताकतका आधारमा जनतामा जान्छ भन्ने सोच्नुपर्छ’, उनले भने ।

महामन्त्री थापाले माओवादीले समयमै गठबन्धन तोडेर धोका दिँदा कांग्रेसलाई शुद्ध हुने मौका मिलेको पनि बताए ।

‘पार्टीका साथीहरुलाई यति मात्रै आग्रह छ– कुनै अलमल नराखीकन, कुनै कुरामा हिनताबोध नराखीकन प्रष्ट भएर जाऔं’, उनले भिडियो सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...