कुसुमटार । हिमाल–पहाड र तराईलाई समृद्धिका रुपमा जोड्ने बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिन डाइभर्सनको सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुन अव २ सय ६ मिटरमात्र बाँकी रहेको छ ।कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये बिहिबारसम्म १२ दशमलव ९ सय ९३ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।
सुरुङ निर्माणमा भौगोलिक जटिलता उत्पन्न नभए आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी समेत गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए ।
बरालका अनुसार आगामी २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा विशेष समारोहका विच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो ।
‘सुरुङ खन्नेकाम अन्तिम चरणमा पुगेको छ । आजको मितिसम्म सुरुङ खन्न अब २ सय ६ मिटर मात्र बाँकी छ । यो ९८ प्रतिसत प्रगती हो । बाँकी खन्न कुनै भौगोलिक जटिलता नआए सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती र मधेश प्रदेशका विशिष्ठ व्यक्तित्वहरुको समेतको उपस्थितीमा विशेष समारोहका विच सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो,’ बरालले भने ।
अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरि निर्माण गरिएको सुरुङको लक्ष्यभन्दा तिन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले २०७७ चैत मा कुल १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
उक्त सुरुङमार्ग २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो । करिव २२ महिनामा निर्माण सक्ने लक्ष्य राखिएकोमा तिन महिना अघि अर्थात १९ महिनामै ‘ब्रेक थ्रु’ हुन लागेको हो । यस अघि टिबिएम माथी पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अबरुद्ध समेत भएको थियो ।
राष्ट्रिय बहुउद्देस्यीय सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट तराई–मधेसमा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रुपमा लिएको छ ।
सुनकोशी गाउँपालिका ७ स्थित कानढुंग्रीबाट सिन्धुली र रामेछापको सिमा हुँदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाईको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारमा झारिनेछ । ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेघावाट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ ।



