सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ५ सिन्धुलीले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता भोली शनिवार वडा कार्यालयबाटै वितरण गर्न लागेको हो ।
वडा अध्यक्ष पूर्णबहादुर खड्काका अनुसार वडाका जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरुलाई लक्षित गर्दै सदाझै यस पटक पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागीएको हो ।
‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही बैशाख ८ गते शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखासंगको समन्वयमा वडा कार्यालयबाट विहान १० बजेदेखि वितरण सुरु गरिने छ,’ उहाँले भन्नुभयो ।
जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरु बैंकमा पुगेर भत्ता लिन समस्या हुने गरेपछि वडाले उहाँहरुको लागि सुविधा प्रदान गर्ने उद्देश्यले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको वडा सचिव उज्ज्वल विक्रम थापाले जानकारी दिनु भयो ।
शनिवार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म वडाका लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता लिन पाउने छन । वडाबाट जेष्ठ नागरीक, जेष्ठ दलित, एकल महिला, लोपउन्मुख जाती, अपाङ्ग तथा पाँच वर्ष मुनिका बालबालिकाहरुलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिदै आइएको छ ।



