प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ।
वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आगलागीबाट ३० जना घाइते भएका छन्। तीन सय ७१ परिवार प्रभावित भएका छन्।
यसअवधिमा भएको आगलागीबाट १६ करोड ७७ लाख बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ।
बुधबारमात्रै महोत्तरीको मटिहानीमा फैलिएको आगलागी ६ घन्टापछि नियन्त्रणमा आयो। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
उनकाअनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका थिए। विपन्न र मुस्लिम समुदायको बाहूल्य रहेको उक्त बस्तीमा अधिकांश फुसका घर थिए। आगोको लप्काले ७–८ वटा अर्ध कच्ची घरसमेत भेटेको थियो।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका(६ स्थित हत्तामा बुधबार दिउँसो भएको आगलागी नियन्त्रण गर्दै सुरक्षाकर्मी र सर्वसाधारणहरू।
‘एक सय एक घर जलेको भन्ने छ। हामीले एक सय मात्रै पहिचान गरेका छौं। आगलागीबाट मानवीय क्षति भएको छैन। पाँच वटा बाख्रा र दुई वटा सुँगुर जलेका छन्,’ प्रजिअ गेलालले भने।
आगलागीको कारण भने यकिन भइनसकेको उनले बताए। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि गेलालको भनाइ छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए।
पानी नपरेकाले आगलागी र डढेलेको प्रकोप देशव्यापी बन्न पुगेको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए।
‘पानी नपरेर सुख्खा बढेको छ, हावाहुरी चल्ने मौसम भएकाले एक ठाउँमा सल्किएको आगो तुरुन्तै अन्यत्र फैलने जोखिम हुन्छ,’ उनले भने, ‘अहिले पनि धेरै ठाउँमा आगलागी भइरहेका छन्। स्थानीय प्रशासनको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’
वन तथा भूसंरक्षण विभागकाअनुसार बिहीबारसम्म ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फलिएको छ। पछिल्लो एक साताको अवधिमा दुई सय ७४ वन क्षेत्रमा डढेलो लागेको छ। अहिलेसम्म प्यूठानको २६, सुर्खेतको २४ वटा वन क्षेत्रमा डढेलो सल्किएको छ।
दाङको १८, बर्दियाको १७ वन क्षेत्रमा डढेलो फैलिएको छ। कैलालीको १३, डोटीको १२ र डडेलधुराको ११ वन क्षेत्रमा डढेलो फैलिएको छ।
‘हावाहुरीका कारण जिल्लाभरि डढेलोको प्रकोप बढेको छ। दुई दिनअघि क्राँक्रेबिहार क्षेत्रमै डढेलो लाग्यो। नेपाली सेना, प्रहरी र जनसमुदायसमेत परिचालन गरेर हामीले जंगलको आगो वस्ती पस्न दिएका छैनौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेतोपाटीसँग भने।
बासस्थान खोज्दै गाउँ झर्न थाले वन्यजन्तु
बागलुङको निसीखोला गाउँपालिकाको खाडाचौर क्षेत्रमा अहिले पनि डढेलो फैलिइरहेको छ।
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौं सामुदायिक वनमा डढेलो फैलिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। डढेलोबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जंगल उजाडिएको प्रशासनले बताएको छ।
ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ। स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन्।
वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेको प्रशासनको भनाइ छ। पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन।
आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन्।



