सिन्धुली । सिन्धुलीको हरिहरपूरगढी गाउँपालिकाका शिक्षकहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको आयोजना गरिएको छ ।
आइतबारबाट गाउँपालिकाको आयोजना र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल (टिपिओ) को प्राबिधिक सहयोगमा १५ वटा सामुदायीक बिद्यालयका शिक्षकहरुलाई दोस्रो चरणको तिन दिवसिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको शुभारम्भ गरिएको हो ।
हरिहरपूरगढी गाउँपालिका क्षेत्रमा ब्याप्त रहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरु न्यूनिकरण तथा आत्महत्या रोकथामका लागि सहयोग पुग्ने अपेक्षा सहित विद्यालयका शिक्षकहरुलाई उक्त तालिमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख यमकुमार अछामीले बताउनु भयो ।
तालिमबाट विद्यलयमा छात्र तथा छात्रहरु विहोस हुने समस्या अर्थात मास कन्भर्जन डिसअर्डर र बालबालिका तथा किशोरकिशोरीहरुमा हुने मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरुलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भनेर समेत सिकाउने गरिएको छ ।
हरिहरपूरगढी गाउँपालिका र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल (टिपिओ) को संयुक्त प्रयासमा हरिहरपुरगढी पालिकामा मानसिक स्वास्थ्य सहयोग परियोजना बिगत १६ महिना देखि सञ्चालन गरिदै आइएको छ ।





