सिन्धुली। यहाँको मरिण गाउँपालिका २ बाट वडा नम्बर १ जोड्ने ग्रामिण सडक पक्की निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५३५ रुपैयाँ लागतमा ८ सय ४५ मिटर पक्की सडक निर्माण गरिएको हो ।
मरिण गाउँपालिका २ स्थित ठुलो गर्दुवाबाट खलंगा हुदै वडा नम्बर १ को कात्तिकेसम्म पुग्ने ग्रामिण सडकको ८ सय ४५ मिटर पक्की ढलान गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनु भयो ।
यो सडक हेटौंडा सिन्धुली चतरा स्थित मदन भण्डारी राजमार्गसंग जोडिएको सडक हो ।
‘बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५ सय ३५ रुपैयाँ लागतमा ६ मिटर चौडाई भएको पक्की सडक निर्माणका लागि ढलान कार्य सम्पन्न भएको छ । यसका साथै सडकको नाला र रिटेनिङ्ग वाल निर्माण भएको कार्य गरिएको छ,’ अध्यक्ष मोक्तानले भन्नु भयो ।
यो सडक गाउँपालिकाको वाड नम्बर १ र दुईको विभिन्न बस्तिहरु राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्र सडक हो । यसको स्तरउन्नती तथा विस्तार गर्दै खलङ्गा–कात्तिके हुदै काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका सम्म जोड्ने लक्ष्य रहेको छ ।
यस सडकको निर्माण कार्य सिन्धुलीको कमलामाई नगरपालिका ५ को निर्माण व्यवसायी श्री लक्की वान विल्डर्स एण्ड सप्लायर्सले लिएको थियो । उक्त सडकको संझौता अनुसारको निर्माण कार्य आगामी जेठ मसान्त भित्र सम्पन्न गर्नेगरी काम भएपनि निर्माण कम्पनीले दुई महिना अघिनै निर्माण कार्य सम्पन्न गरेको मरिण गाउँपालिकाका इन्जिनियर विनित ओझाले बताउनु भयो ।
उक्त सडक खण्ड अन्तरगत गत आर्थिक वर्षमा गरिएको २ सय ५५ मिटर ढलान सहित यस बर्षको ८ सय ४५ मिटर गरी कुल एक दशमलव एक किलो मिटर सडक पक्की ढलान सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ ।
‘उक्त सडकमा ण्लान भएसंगै अव वर्षातको समयमा समेत यातायातको सहज पुहँचपुग्ने भएको छ । निर्वाचनका बेला त्यस क्षेत्रको विकासमा सडकलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता अनुसार पक्की सडक निर्माणको काम भईरहेको छ । यसलाई आगामी वर्षमा समेत प्राथमिकता राखेर सम्पन्न गर्ने योजना बनाएको छु,’ अध्यक्ष मोक्तानले भन्नुभयो ।
गाउँपालिका र मदन भण्डारीबाट वडा कार्यालयसम्म आउने मुख्य सडकनै पक्की नहुँदा वर्षेनी समस्या हुने गरेकोमा यस वर्षबाट भने स्थानीय नागरीकले समस्या भोग्न नपर्नेगरी पक्की सडक निर्माण कार्य भएको वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुर्मछानको भनाई छ ।



