सिन्धुली। सिन्धुलीका १५ हजार बढी बालबालिकाहरुलाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन थालिएको छ ।
जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौं वटै स्थानीय तहका २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका र खोप लगाउन छुटेका १५ हजार ८४ जना बालबालिकाहरुलाई आईपिभी खोप लगाउन थालिएको हो ।
यो खोप अभियान जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए ।
‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई जिल्लाका विभिन्न ६ सय ५८ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको छ,’ उनले भने ।
यसका लागि जिल्लाका विभिन्न केन्द्रहरुमा एक हजार ३ सय १६ जना स्वास्थ्यकर्मी र स्वयंमसेवकलाई परिचालन गरिएको छ ।
‘सिन्धुलीमा आईपिभी खोप अभियान यही जेठ २० गतेदेखि सुरु भएको हो । यो अभियानमा आगामी आइतबारसम्म सञ्चालन हुने छ । उक्त समयसम्म जिल्लाका सबै खोप केन्द्रबाट १५ हजार ८४ बालबालिकाले पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउने अपेक्षा गरिएको छ,’ पन्तले थपे ।



