सिन्धुली । मनसुनजन्य विपदबाट हुने क्षतिको न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्लाको सुनकोसी गाउँपालिकामा स्थानीय विपद् सहायत कक्ष (हेल्प डेक्स) स्थापना गरिने निर्णय गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी संयोजक रहनेगरी सहायत कक्ष स्थापना गर्ने निर्णय गरिएको हो ।
गृहमन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको पत्रानुसार गाउँपालिकामा हुने मनसुन जन्य तथा अन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सहायता कक्षा स्थापना गर्ने निर्णय गरिएको हो ।
सहायत कक्षा स्थापनाका लागि प्रमुख प्रशासकिय अधिकृत दर्जीको संयोजकत्वमा सुनकोशी गाउँपालिका अन्तरगतका सबै रेडक्रस उपशाखाका प्रतिनीधि, नागरीक समाजबाट उपेन्द्र कोइराला, मदन आचार्य, नारायण प्रसाद चौलागाँई, रामकुमार थापा सदस्य रहने निर्णय गरिएको छ । यस्तै समितिको सदस्य सचिवमा गाउँपालिकाका प्रशासन प्रमुख डण्डपाणी भण्डारी रहेका छन ।
सहायत कक्ष संचालन समितिले गृहमन्त्रालयको निर्देशन अनुसारको व्यवस्थापन गर्ने, पालिकाका सबै एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने, सडक डिभिजन कार्यालय खाल्टे र यान्त्रीक कार्यालय रामटारका मेसिनहरु तयारी अवस्थामा राख्ने, विपद् सहायता कक्षको नेतृत्वमा जनप्रतिनीधि, राजनीतिक दल, कर्मचारी, प्रहरी, प्रशासन र रेडक्रसकर्मीहरु परिचालन गरिने निर्णय समेत गरिएको छ ।
मनसुनी वर्षाका कारण गाउँपालिकाको भिरालो र कमजोर भौगोलिक बनावट भएका क्षेत्रमा बाढी, पहिरो, डुबान, कटान जस्ता विपदबाट ठूलो जनधनको क्षति हुनेगरेका कारण पालिकामा पूर्व तयारीका लागि समिति गठन गरेर काम थालिएको अध्यक्ष दाहालको भनाई छ ।
सामान्यतया असारदेखि असोजसम्मको झण्डैं सय दिन मनसुन सक्रिय हुन्छ । वर्षातको समयमा पहिरो, बाढी, कटान, डुवान, चट्याङ्ग, सर्पदंश, झाडापखाला जस्ता पानीजन्य प्रकोपहरुको बढी जोखिम हुने भएकाले त्यसको पूर्व तयारीका लागि पालिकामा सहायता कक्षा स्थापना गरिएको सहायत कक्षका संयोजक तथा प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताए ।
समितिले नेपाल सरकार तथा विभिन्न निकायहरूसंगको समन्वयमा मनसुनजन्य विपदबाट हुने क्षतिको न्यूनीकरण र रोकथामका लागि प्रयास गर्ने भएपनि यस्ता विपद्का समयमा तीनै तहका सरकार, राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, विकास साझेदार एवं निजी क्षेत्र र समुदायनै एकजुट भएर काम गर्न जरुरी रहेको दर्जीको भनाई छ ।
पालिकामा विपद जोखिम् न्यूनीकरण तथा व्यवस्थापन, प्रकोपपूर्व अपनाउनुपर्ने सावधानी, खोज तथा उद्धार, प्रभावितका लागि राहत र विपदपश््चात गर्न सकिने मानवीय सहयोग र पुनर्निर्माण एवम् पुर्नस्थापनाको क्षेत्रमा गर्न सकिने आधारभूत विषयमा समेत तयारी थालिएको बताइएको छ ।







