सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले नेपालमा संघियताको औचित्य नदेखिएको बताउनु भएको छ । मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीहरु माझ संछिप्त धारण राख्दै सांसद घिमिरेले यस्तो बताउँनु भएको हो । उहाँले केही दलहरुको लहडमा ल्याईएको संघियता देशले थेग्नै नसक्ने बताउँदै खारेज गर्नुपर्ने उल्लख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्य देशमा टुक्रिएको देशलाई एकठाउँमा ल्याउनका लागि संघियताको अवधारणा ल््याईएको थियो तर, नेपाललाई संघियताका नाममा टुक्राउने काम भएको छ । यो अन्यदेशको अनुभव र नेपालको आर्थिक र सामाजिक भौगोलिक दृष्टिकोणले पनि उपयुक्त देखिएन । यसलाई खारेज गरेर नयाँ ढंगबाट संरचना तय गरिनु पर्दछ ।’
नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद घिमिरेले संघियताका जटिलता र फाईदाका बारेमा बहसै नगरि संघियता ल्याएकाले समस्या सृजना भएको दावी गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहनु भएको सांसद घिमिरेले प्रदेश सरकारले समेत आफ्नो औचित्य पुष्टि गर्न नसकेको उल्लेख गनुृभयो ।
‘संघियताले देशलाई आर्थिक भार मात्र बढेको छ प्रदेश सरकारहरू राजनीतिक निर्णय गर्न समेत केन्द्रको आदेश पर्खने, बजेटका लागि केन्द्र ताक्ने अवस्थामा रहेको र आफै राजस्व संकलन र परिचालनमा समेत कमजोर बन्दै गएको छ । यस्तो प्रदेश संरचनाले देशमा आर्थिक भार मात्र थप्नेकाम गरेको छ,’ उहाँले थप्नुभयो ।
उहाँले नेपालका संवैधानिक आयोग, संसदको संख्या र स्थानीय तहको संख्या समेत घटाउनु पर्ने बताउँनु भयो ।
नेपालको राजनीतिक अस्थिरताको कारण समानुपातिक निर्वाचन प्रणाली भएको उल्लेख गर्दैसमानुपातिक निर्वाचन प्रणाली र ८ सय सांसदको औचित्य नभएको भन्दै यो संख्या समेत घाउनु पर्ने बताउनु भयो । घिमिरेले वर्तमान सरकार अस्थिर रहेको बताउँदै कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न सके संघियता तथा निर्वाचन प्रणालीका बारेमा संविधान संसोधन गरेर नयाँ निर्णय गर्नसकिने उल्लेख गर्नुभयो ।



