सिन्धुली । मरिण गाउँपालिका ६ मा रहेको कपिलाकोट माविले विद्यालयका विरामी कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।
विद्यालयका कार्यालय सहयोगी किर्तिराम माझीलाई उपचारार्थ विद्यालयको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको विद्यालयका प्रध्यानध्यापक अमृतसिं घिसिङले जानकारी दिनु भयो ।
माझी लामो समय देखि गम्भीर बिरामी भइ हाल पाटन अस्पताल ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ विद्यालय परिवारको तर्फबाट ५१ हजार रुपैयाँ अस्पतालमै पुगेर हस्तान्तरण गरिएको प्रअ घिसिङको भनाई छ ।
‘विद्यालयको एउटा सदस्य रोग लागेर छटपटाई रहँदा सहयोग नगर्ने भन्ने कुरै हुँदैन । विद्यालय परिवारको तर्फबाट सकेको रकम सहयोग गरेका छौं । यो सानै रकम भएपनि उहाँलाई सहयोग गर्न पाउँदा निक्कै ठुलो खुसीको अनुभुती मिलेको छ,’ उहाँले भन्नुभयो ।
रकम सहयोग गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ ‘उत्साह’, नेकपा माओवादी केन्द्र बागमति प्रदेश समितिका सहसचिव प्रकास श्रेष्ठ लगायतको समेत उपस्थिती रहेको थियो ।
उक्त अवसरमा विद्यालय परिवारको तर्फबाट कार्यालय सहयोग माझीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।



