सिन्धुली । मरिण गाउँपालिका ७ नयाँ बस्तिकी दुई दिनकी सुत्केरी महिला सुस्मा थामीलाई मरिण गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
विपन्न थामीलाई आर्थिक अभाव हुँदा खाँन समेत समस्या भएपछि गाउँपालिकाले घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र वडा नम्बर ७ वडाअध्यक्ष चन्द्र बहादुर थिङलगायतले घरमै पुगेर विपन्न सुत्केरी थामीलाई १० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।
श्रीमानवे बेवास्था गर्दा दुई दिनकी सुत्केरी खानेकुराको अभावमा जाउलो र पानीको भरमा बसेको खपार पाएपछि तत्कालै गाउँपालिकाको टोली घरमै पुगेर आर्थिक सहयोग गरेको अध्यक्ष मोक्तानको भनाई छ ।
‘७ नम्बरका वडा सदस्यले आर्थिक अभावले गर्दा सुत्केरी सुष्माले जाउलोको भरमा बस्नुपर्ने बाध्यता रहेको सुनाए पछि भिटामिन तथा पोषिलो खानेकुरा खान सहज होस भनेर तत्कालका लागि घरमै पुगेर सहयोग गरिएको छ । आवश्यक पर्दा पालिकाले अन्य सहयोग गर्न पनि तयार छ,’ अध्यक्ष मोक्तानले भने ।
उक्त पैसाले सुत्केरीलाई आवश्यक पर्ने खाना, मासु, घ्यू लगाएतका पोषिलो खानेकुराहरु किनेर खानको लागि सहयोग पुग्ने अपेच्छा गरिएको छ ।
सुत्केरी सुस्माका श्रीमान उद्धप थामीले दोस्रो विवाह गरेका कारण सुस्मा अपहेलित भएकी हुन् । श्रीमानले दोस्रो विवाह गरेकाले सुष्पाको हेरचाहमा कमी भएको परिवारले जनाएको छ । आर्थिक रुपमा विपन्न जुनसुकै अवस्थाका गाउँपालिकाबासीलाई आवश्यक सहयोग बर्षेनी गर्दै आएको गाउँपालिका अध्यक्ष मुक्तानको भनाई छ ।
गाउँपालिकाले महिला गर्भवति हुँदा देखी निशुल्क स्वास्थ्य परिक्षण, नियमित स्वास्थ्य परिक्षण गराउनेलाई प्रोत्सहान रकम, सुत्केही हुँदा निशुल्क एम्बुलेन्स सेवा देखि स्वास्थ्य संस्थामै गएर सुत्केरी हुँदा भत्ता समेत दिँदै आएको छ ।
उता गाउँपालिकाले सुस्मा जस्ता विपन्न, गरीव, दलित तथा आर्थिक अभाव भएका २ सय ५० बढीलाई आर्थिक सहयोग गरेको बताइएको छ ।
अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाले विभिन्न प्रकारका रोग लागेर उपचार गर्न आर्थिक अभाव भएकाहरु, विपद्मा परेकाहरुलाई पाँच हजारदेखी माथी सहयोग गर्दै आएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्र गाउँपालिकाले झण्डै ३५ लाख रुपैयाँ विपन्नहरुलाई सहयोग प्रदान गरिएको उल्लेख छ ।
अध्यक्ष मोक्तानले मरिणका नागरीकले सामान्य औषधी खान नपाएर, एक छाक खाना खान नपाएर मर्नु पर्ने दिनको अन्त्य गर्नेगरी मरिण सरकार काममा लागि परेको र यस्ता सहयोगहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने गरी काम भईरुहेको बताए ।



