सिन्धुली । ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन, २०२४ बाट उत्कृष्ट अवार्ड पाएसंगै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको चर्चा चुलिएको छ ।
सुशासन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो पालिका बनेपछि अध्यक्ष मोक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन २०२४ वाट सम्मान गरिएको थियो ।
स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७ दमलव ५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९४ दशमलव ७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको थियो । यो अवार्ड प्राप्त गरेसंगै अध्यक्ष मोक्तानलाई बधाईको ओइरो आउन थालेको छ ।
सोही क्रममा अध्यक्ष मोक्तानलाई बुधबार मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालले पनि एक कार्यक्रमका विच सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर स्याङ्तानको अध्यक्षमा भएको कार्यक्रममा अध्यक्ष मोक्तानलाई दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गरिएको विद्यालयका प्रध्यानध्यापक मानध्वज बम्जनले बताउँनु भयो ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मोक्तानले कामको मूल्यांकन गरेर सम्मान पाउँदा खुसी भएको बताउँदै यो सफलता आफु एक्लैबाट नभई सिंगो पालिकाका जनप्रतिनीधि, कर्मचारी, राजनितिक दल र गाउँबासिको सहकार्य र एकताबाटमात्र सम्भाव भएको बताउँनु भयो ।
‘यो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी लगायतका सबै कर्मचारी र स्थानीय जनप्रतिनिधि लगायतका सबैको मेहनतबाट प्राप्त भएको हो । यो अवसरमा म हाम्रा राजनीतिक दल, शिक्षक, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी लगायत सम्पुर्ण मरिणवासी प्रति आभार व्यक्त गर्दछु । यो अवार्डले मलार्ई अझ मेहनतका साथ काम गर्ने हौसला मिलेको छ,’ उहाँले भन्नु भयो ।
२०७४ को निर्वाचनमा वडाध्यक्ष निर्वाचित भई काम गर्नुभएका मोक्तान २०७९ को स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।









