११ कार्तिक, सिन्धुली । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित सिन्धुलीको सुनकोशी गाउँपालिका १ कुशेश्वर दुम्जाका बटुकहरूलाई भगवती अंग्रेजी आवासीय मावि सिन्धुलीले सहयोग प्रदान गरेको छ।
शनिबार कुशेश्वर दुम्जामा रहेको गुरुकुलमा अध्ययनरत २६ जना बटुकसहित गुरुहरूका लागि भगवती माविले खाद्यान्न तथा स्टेशनरी सहयोग प्रदान गरेको हो।
भगवती अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल कृष्णकुमार उप्रेतीका अनुसार बाढी प्रभावित गुरुकुलका बालबालिकाहरू खानासमेत खान समस्या भएको खबर प्राप्त भएपछि विद्यालयले गुरुकुलमानै पुगेर सहयोग गरेको हो। उनका अनुसार गुरुकुलका विद्यार्थीहरूका लागि भगवती माविले २० बोरो चामल, ७० दर्जन कपी, ७० दर्जन कलम, ३ काटुन तेल, २ बोरा दालमोठ, २ काटुन बिस्कोट, १ बोरा नुन र दुई बोरा चिउरा लगायतका सामग्री प्रदान गरेको हो।
सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइराला, भगवती माविका अध्यक्ष सञ्जयकुमार दाहाल, फाउन्डरहरू दीपक घिमिरे र गोपालकुमार पौडेललगायतले उक्त सहयोग सामग्री गुरुकुल तथा कुशेश्वर माहादेव मन्दिरका अध्यक्ष तिर्थकुमार कोराईला र गुरुकुलका प्राचार्य गुरु नारायण घिमिरेले प्रदान गरेका हुन्।
नेपाल सरकारबाट स्वीकृत प्राप्त उक्त धार्मीक गुरुकुल विद्यालयमा २६ जना बटुकहरू अध्ययनरत छन्। गत असोज ११ गतेदेखी परेको अविरल वर्षाका कारण रोशी र सुनकोशी नदीमा आएको बाढीमा फसेका उनीहरूको २४ घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो।
बाढीमा फसेको २४ घण्टापछि उद्धार भए पनि गुरुकुलमा खाद्यान्न अभाव हुँदा बालबालिकाहरू भोकभोकै बस्नुपर्ने बाध्यता भएका बेला भगवती विद्यालयको सहयोगले ठूलो राहात पुगेको उक्त गुरुकुलका गुरु नारायण घिमिरेको भनाइ छ।
गुरुकुलमा सिन्धुली, रामेछाप, काभ्रे, ओखलढुंगा, सर्लाही, मकवानपुर, दाङ लगायतका जिल्लाका बटुकहरू अध्ययनरत छन्। उनीहरूलाई विभिन्न दाताहरूकै सहयोगको भरमा गुरुकुलले पठनपाठन गराउँदै आएको अध्यक्ष तीर्थराज कोइरालाको भनाइ छ। सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाका अनुसार बाढी र पहिरोका कारण गाउँपालिकाका मात्र सबैभन्दा बढी विद्यालय भवनहरूमा क्षति पुगेको छ। उक्त गाउँपालिकाका १३ वटा विद्यालय भवनमा क्षति पुगेको हो।
‘गाउँपालिकाका विभिन्न १३ वटा विद्यालयमा बाढी र पहिरोले क्षति पुर्याएको छ तीमध्ये दुइटा विद्यालय पूर्णरूपमा क्षति भएको छ भने अन्य विद्यालयहरू पुरिएका छन्। ती विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्थामा छैनन् यो गुरुकुल पनि बाढीले क्षति पुर्याएको छ। बालकहरूको भने उद्धार गरिए पनि खाद्यान्न समस्या थियो। भगवतीको सहयोगले राहत पुगेको छ,’ उनले भने।
लगातारको बाढी र पहिरोका कारण जिल्लाको सुनकोशी, गोलन्जोर, फिक्कल र हरिहरपुरगढीका बालबालिकाहरू प्रभावित भएका छन्। जिल्लाका चार गाउँपालिकाका २५ वटा विद्यालयमा क्षति पुगेको छ भने ती पालिकाका १८ हजार बढी बालबालिका प्रभावित भएका छन्। बाढीका कारण विद्यालय र विद्यार्थीको घरसहित पाठ्यपुस्तकसमेत बगाएको छ। बाढीका कारण त्रैमासिक परीक्षासमेत अनिश्चित बनेको छ।



