सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ ।
आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो ।
गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए ।
गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् ।
तथ्यांक अनुसार तिनपाटन गाउँपालिकामा कुपोषणका बालबालिकाहरु भेटिएपछि यस्तो बहस सुरु गरिएको हो । कुपोषणलाई पुड्कोपन, कम तौल, ख्याउटेपन र मोटोपनका आधारमा छुट्याइन्छ ।
सरकारले सन २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्ने गरी दिगो विकास लक्ष्य तय गरेको छ । दिगो विकास लक्ष्य २०३० का १७ वटा लक्ष्य मध्य १२ वटा लक्ष्यमा पोषण सम्बन्धी सूचकहरु समावेश गरिएको छ ।
पालिकालाई कुपोषण मुक्त गर्न यि संगै ४९ वटा सूचकहरु पुरा गर्नुपर्दछ । ति मध्ये १६ वटा सूचकहरु पुरा गरिसकेकोले अब छिट्टै गाउँपालिकालाई नै कुपोषण मुक्त र बालमैत्री पालिका घोषणा गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामीले थपे ।
गाउँपालिकामा ११ वटा वडाहरु रहेका छन् । ति मध्ये वडा नम्बर १० को प्राथमिक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर वडालाई नै पोषणमैत्री बनाउने अभियान थालिएको छ । यसका लागि वल्ड भिजनको सहयोगमा सिन्धुली एकिकृत विकास सेवा (सिड्स) नेपालले सहयोग गरेको छ ।
राष्ट्रिय पोषण नीति तथा रणनीति अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपंक्षी विकास, महिला तथा बालबालिकाहरुको क्षेत्रमा योजनाबद्ध कार्यहरु गरेर सबै सूचकहरु पुरा गरेर पालिकालाई कुपोषण मुक्त बनाउने गरी काम थालिएको सिड्स नेपालकी कोषाध्यक्ष बिमला श्रेष्ठको भनाई छ ।
बहसमा पालिकाका अध्यक्ष कर्ण थापा, उपाध्यक्ष अशोक पुलामी, वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत टंक नेगी, कार्यपालिका तथा वडा सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला समुह तथा महिला स्वास्थ्य स्वयमसेविकाहरु, दातृ निकाय वल्ड भिजनका अधिकृतहरु, साझेदार संस्था सिड्स नेपाल तथा रिलिफ नेपालका कार्यक्रम अधिकृतहरु लगायत सरोकारवालाहरुले पोषणमैत्री पालिका घोषणाका लागि आवश्यक सूचकहरु पुरा गर्न दातृनिकाय तथा साझेदार संस्थाहरुसंगै पालिकाले वार्षिक निति तथा कार्यक्रममा प्रथामिकता दिएर काम गर्नुपर्ने सुझाव दिएका छन् ।
यसका लागि पालिकामा सुनौंलो हजार दिन कार्यक्रम, आमा समुह गठन तथा सचेतना, बाल क्लव गठन, किशोरी समुह गठन, पोषण युक्त आहारका लागि तरकारी तथा फलफुल खेती, कुखुरा तथा पशुपालन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
नेपालमा कुपोषण न्युनिकरणका लागि विभिन्न प्रयासहरु हुँदै आएका छन् । नेपालका ४५ प्रतिशत बालबालिकाको अप्रत्यक्ष रुपमा कुपोषणका कारण मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
यसैगरी विश्व बैंकको त प्रतिवेदन २०१८ ले कुपोषणका कारण कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत र एशिया तथा अफ्रिकाका देशहरुमा ११ प्रतिशत नोक्सानी हुने जनाएको छ ।








