सिन्धुली २२, जेठ । विश्व वातावरण दिवश २०८२ को अवसरमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा १५ हजार अम्रिसोको विरुवा रोपिएको छ ।
गोलन्जोर गाउँपालिकाको समन्वय तथा सिन्धुली एकिकृत विकास सेवा संस्था (सिड्स) नेपाल सिन्धुलीको आयोजनामा गोलन्जोर गाउँपालिका ४ को गुर्दुम स्थित महाकाली सामुदायिक वन समुहमा अम्रिसोको विरुवा रोपिएको हो ।
गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा लगायत सामुदायिक वनका पदाधिकारी, कर्मचारी विद्यार्थी लगायतको उपस्थितीमा विरुवा रोपिएको हो ।
पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत वल्ड भिजनको सहयोगमा खरिद गरिएको १५ हजार अम्रिसोको विरुवाहरु सामुदायिक वन क्षेत्रमा रोपिएको हो ।
विश्व वातावरण दिवस मनाउँदा अम्रिसो खेतीले वातावरणको संरक्षण संगै आम्दानी समेत हुने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताए ।
‘वृक्षारोपणले भू–संरक्षण, जलाधार संरक्षणसंगै वातावरण संरक्षण गर्ने त निश्चित छनै । अम्रिसो खेतिबाट हुने आम्दानीले स्थानीय नागरीकको जिविकोपार्जनमा समेत मद्धत पु¥याउने छ,’ उनले भने ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले वातावरण संरक्षणमा नागरीक, स्थानीय संघसंस्था र सरकारको उत्तिकै दायित्व हुने भन्दै अम्रिसोको व्यावसायिक खेतिका लागि समेत मद्धत पुग्ने गरी गरीएको बृक्षारोपण अत्यन्तै लाभदायिक बन्ने विश्वास व्यक्त गरे ।
चौधरीले गाउँपालिकाको आगामी बजेटमा महाभारत क्षेत्रमा अम्रिसो तथा अंलैची खेतीका लागि आवश्यक योजना र बजेटको व्यवस्थापन गर्ने समेत जानकारी दिए ।
सहयोगी संस्था सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापाले अम्रिसो, अँलैची, सिन्कौली, बाँस जस्ता विरुवाको बृक्षारोपण गर्दा वातावरण संरक्षण संगै त्यसको आम्दानीले समुह र स्थानीय नकागरीकलाई नै फाइदा पुग्ने उल्लेख गरे । उनले आगामी दिनमा गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्रमा ब्यावसायिक रुपमा आम्दानी गर्न सकिने अम्रिसो तथा अंलैची खेतिका लागि आफुहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र अम्रिसो, अंलैची तथा सिन्कौली खेतीका लागि उपयुक्त हावापानी मानिन्छ । यहाँका स्थानीय नागरीकले निजी तथा सामुदायिक वनमा अम्रिसो खेती गरेर मनग्य आम्दानी लिँदै आएका छन् ।








