सिन्धुली । अन्तराष्ट्रिय दातृ निकाय वल्ड भिजन इन्टरनेश्नलको सहयोग तथा गोलन्जोर गाउँपालिकासंगको सहकार्यमा सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुलीले संचालन गरेका विभिन्न योजनाको अनुगमन गरिएको छ ।
पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा निर्माण गरिएको खानेपानी योजना, सामाजिक कोष अन्तरगत गठन गरिएको समुह, त्यस समुहको बैठक मन्च, स्वास्थ्य संस्थालाई सहयोग गरिएको विभिन्न स्वास्थ्य सामाग्री, आयआर्जनका लागि बाख्रा पालन गर्ने कृषकका लागि खोर निर्माणमा गरिएको सहयोग लगायतका परियोजनाको अनुगमन गरिएको हो ।
बिहिबार गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा, परियोजनाका अधिकारी, संचारकर्मी लगायत सरोकारवालाहरुले सामुहिक रुपमा ति योजनाको अनुगमन गर्नु भएको हो ।
वल्ड भिजन तथा गोलन्जोर गाउँपालिकासंगको समन्वयमा तिनकन्याको माझकुभिण्डेमा निर्माण गरिएको खानेपानीको इन्टेक, रिजर्भ टंकी र घरघरमा निर्माण गरिएको खानेपानीको धारा अनुगमन गरिएको उक्त परियोजनाका अधिकृत सागर धितालले जानकारी दिनुभयो ।
सिड्स नेपालले माझकुभिण्डेमा १ इन्टेक, १ रिजर्भ टंकी तथा २० वटा खानेपानीका धारा निर्माण गरेको छ । अनुगमनका क्रममा गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले सिड्स नेपालले संचालन गरेका योजनाहरु स्थानीय नगारीकको जिविको पार्जनसंग सम्बन्धित रहेको र अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्नुभयो । उक्त खानेपानीबाट १०५ जना लाभान्वित हुने छन् ।




