सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु तिन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबार देखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल मंगलबार एक सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु आगामी शुक्रबारसम्मका बन्द गरिने जनाए ।
हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरुमा जानकारी गराइएको छ ।
कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा अत्याधिक गर्मी हुँदा दुधौली, मरिण, हरिहरपुरगढी र सुनकोशीगढतीर क्षेत्रका विद्यालयहरुमा समेत पठनपाठनमा समस्या हुनेगरेको छ ।
जिल्लामा ३७ देखि ३८ डिग्रीसम्म तापक्रम हुने गरेको छ । गर्मीका कारण मरिण गाउँपालिकाका कतिपय विद्यालयका बालबालिकाहरु विहोस भएर ढल्ने समेत गरेको अभिभावकहरुले जनाएका छन ।




