सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
सुनकोसीको दोस्रो गाँउसभाको १७ औं अधिबेशनको ३५ औं बैठकमा गाँउपालिकाको अध्यक्ष दाहालले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले ‘कृषिमा आत्मर्भिर, गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई अगाडी बढाउँदै एक वडा एक उत्पादन कार्यक्रमलाई संचालन गरिने नीति लिएको छ ।
अग्र्यानिक तरकारी उत्पादन, जैविक विविधता, ‘घरमै रोजगार गोठमै ब्यापार’ कार्यक्रम संचालन गरी व्यावसायिक पशुपालनलाई प्रथाकिता दिइने उल्लेख छ । विदेशबाट फर्कीएकाहरुलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिने छ । व्यावसायिक माछापालनबाट हरित अर्थतन्त्रको विकास गर्न माछापालन कार्यक्रमलाई प्रबद्र्धन गरिने छ ।
कृषकको लगानी सरक्षित गर्न ५० प्रतिसत अनुदानमा पशु विमाको कार्यक्रम अघि बढाइने उल्लेख छ ।
‘सानो लगानी, राम्रो आम्दानी’ कार्यक्रम अन्तरगत विपन्न नागरिकहरुलाई कुखुरा, हाँस, टर्की, कालिज पालनमा अनुदानको व्यवस्था गरिने छ ।
सुनकोसी गाउँपालिकालाई उद्योगको हवका रुपमा विकास गर्ने पालिकाले नीति लिएको छ ।
‘एक वस्ति, एक आकर्षण’ अभियान सुरु गर्दै गाउँपालिका भित्रको सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गरिने छ । त्यसका लागि आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणका लागि कार्यक्रमहरु संचालन गरिने अध्यक्ष दाहालले सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममा पालिकाको महाभारत क्षेत्रमा पर्यटन प्रद्र्धनका लागि वडा न १ बालुवा देखी ओद्रेकोट बन्दीपुर हुँदै नाँगी मझुवा सम्म पदमार्ग निर्माण गरिने उल्लेख छ । यस्ता स्थानमा सुविधा सम्पन्न होम–स्टेहरु संचालन गरिने छ ।
भविष्यमा सुनकोशी मरिन डाइभर्सन र खुर्कोट–चियावारी सुरुङमार्ग निर्माणपछि त्यस क्षेत्रलाई उपयोग गर्दै आन्तरीक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि आकर्षक पूर्वाधारहरु निर्माण गरिनेछ ।
गाउँपालिकाको पर्यटकीय गन्तव्यको रुपमा रहेको देववस्थान, खानीगाउँ, सउरेनी, ओख्रेनी, काफ्लेचौर, डाँगी, बाल्दे, बुद्दपार्क हिलेखर्क, पाल्चुरी, बन्दिपुर, मतनबास, नागी गढीको निर्माण, प्रचार प्रसारमा जोड दिइने छ ।
गाउँपालिकाले आगामी वर्षबाट ‘एक वडा ३ फरक उदेश्यका सहकारी’ नीति अनुरुप सहकारी मर्ज गरी स्मार्ट सहकारी डिजिटल प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाका सबै विद्यालयहरुमा बालमैत्री एवंम अपाङ्ग मैत्री भौतिक पूर्वाधारको विकास, स्मार्ट प्रविधिको प्रयोग, समावेशी सिकाई वातावरण प्रबद्र्धनका कार्यक्रमहरु अघि सार्ने उल्लेख गरिएको छ ।
निति तथा कार्यक्रममा समुदायमा रहेको घट्दो बालबालिकाको संख्यालाई मध्यनजर गर्दै एक वडा एक आवसिय विद्यालय स्थापना गरिने उल्लेख छ ।
गाउँपालिकमा आगामी वर्ष भित्रमा १५ वेडको अस्पताल निर्माण कार्य थालिने, ‘सुरक्षित मातृत्व सुनकोशीको दायित्व’ भन्ने नारालाई सार्थक बनाउँन ६ वटा वर्थिङ सेन्टरलाई व्यवस्थीत र विश्वसनीय बनाईने छ ।
सुनकोसीका सबै घरघरमा स्वाच्छ खानेपानी, स्नाकोत्तरसम्म अध्ययनरत छोरी बुहारी सम्मान तथा छात्रवृद्धि कार्यक्रम, बालबालिकासंग गाउँपालिका कार्यक्रम, सिप सिकौं आत्मनिर्भर बनौं जस्ता नारा सहितका कार्यक्रम प्राथमिकताका साथ अघि सारीएको छ ।
सामाजिक सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैगिक हिंसा न्युनिकरण तथा सशक्तिकरण तथा समावेशी विकास, सरसफाई लगायतका कार्यक्रमहरु समेत उच्च प्राथमिकता साथ ल्याइएको छ ।
हेर्नुहोस सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रको पूर्ण पाठ
सुनकोशी गाँउपालिकाको आर्थिक बर्ष २०८२।८३को नीति तथा कार्यक्रम




