सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रवि लामिछानेमाथी छानबिन गर्न नेपाली कांग्रेसले भने जस्तो संसदीय समिति गठन नहुने बताएका छन् ।
बुधबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले लगातार संसद अबरुद्ध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको छटपटाहट मात्र भएको उल्लेख गरे ।
कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनको राजिनामा माग्दै संसदिय छानवि समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ ।
‘कांग्रेसले उठाएको माग पूर्वग्राही छ । यो नेपाली राजनितिमा कुनैपनि दृष्टिकोणले मान्य छैन । कसैले आरोप लगाएकै भरमा छानबिन समिति बनाउने र मन्त्री, सांसदले राजिनामा दिदै हिड्ने हो भने भोलिका दिनमा के अवस्था आउछ । यस विषयमा कांग्रेस सोच्नु पर्दछ । आरोपकै भरमा राजिनामा दिने र संसदीय छानबिन समिति गठन हुँदैन,’ उनले भने ।
हिजो आफु सक्तामा हुँदा मन्त्रीहरु झण्डा हल्दाउँदै बयान दिँदा र पूर्वपक्षका लागी अदालतको आदेश हुँदासम्म आफ्ना सांसद मन्त्रीलाई निलम्बन समेत नगरेको कांग्रेसले अहिले संसद अबरुद्ध गर्नु उचित नभएको उनको ठहर छ ।
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न बुधबार सिन्धुलीमाढी आइपुगेका पोखरेलले कांग्रेस र एमाले विचमा भएको छलफललाई सत्ता परिवर्तनका रुपमा नहेर्न समेत आग्रह गरे ।
उनले भने, ‘कांग्रेस र एमाले विचमा विचार र शिद्धान्तनै मिल्दैन । त्यस्तो पार्टीविचमा कुनैपनि सहमति र गठबन्धन हुँदैन । यहि गठबन्धन आगामी निर्वाचनमा सम्म चल्छ ।’
महासचिव पोखरेलले माओवादी लगायतका दलसंगको गठबन्धन पनि गठबन्धन नभएर स्थायी सरकारका लागि समिकरण मात्र भएको बताए ।
‘दुई वर्षदेखिको अप्राकृति, उद्देश्य र निति विहिन सत्ता गठबन्धन र असफल सरकारलाई स्थायी बनाउन र गलत दिशा तर्फ जान लागेको मुलुकलाई सहि दिशा तर्फ ल्याउन पहल गर्न एमालेले वर्तमान समिकरण गरेको हो,’ उनले थपे ।
आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा मुलुक संकटमा परेको उल्लेख गर्दै उनले नयाँ समिकरणले ल्याएको न्युनतम साझा कार्यक्रम कार्यान्वयनले विस्तारै मुलुक समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश सभा विगठन तर्फ जान लागेको हो भन्ने प्रश्नमा जवाफ दिँदै पोखरेलले दुबै प्रदेशमा दुईचार दिन भित्रै सरकार पुनःगठन हुने उल्लेख गरे ।
अर्को एक प्रसंगमा पोखरेलले पछिल्लो समय देशमा जातिय र धार्मीक अतिवादले नेपालको मौलिकता नै खतरामा परेको उल्लेख गरे ।
उनले थपे, ‘जातिय अतिवाद र धार्मीक अतिवादका नाममा नेपालको मौलिकतालाई भारतिय पन्च साम्प्रदायकका नाममा धार्मीक अतिवाद तर्फ लैजान लागिएको छ । मुलुकलाई जोगाउने, राष्ट्रिय स्वधिनता र स्वाभिमान लाई पुनः उजागर गर्दै विकास र समृद्धिलाई सही बाटोमा लैजानु आवश्यक छ ।’
महासचिव पोखरेलले आजै एक कार्यक्रमका विच नेकपा एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । बिहिबार सम्म चल्ने अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटि सदस्य (आयोजक) १ सय ३० सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधि सहभागि छन ।
अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुने छन् ।



