सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ गरिदै छ ।
मध्य तराईका पाँच जिल्लामा सिँचाई र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण थालिएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ९९ दशमलव ९९ प्रतिसत काम सम्पन्न भएपछि आज ब्रेक थ्रु गर्न लागिएको हो ।
१३ दशमलव ३ किलोमिटर लामो सुरुङको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका विच ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।
आयोजनाको १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका ७ कानढुंग्री स्थित सुनकोसी नदि किनारामा प्रधानमन्त्री प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्न लागेका हनु ।
आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको थियो ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका २ कुसुमटारबाट १९ महिना अघि टीबीएम प्रविधिको मेसिनको प्रयोग गरेर सुरुङ निर्माण थालिएको थियो ।
राष्ट्रिय गौरवको बहुउद्देशीय आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ निर्माणको काम कमलामाई नगरपालिका २ को कुसुमटारबाट ०७९ असोज २८ देखि सुरु भएको थियो ।
आयोजनाको २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका २ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका विच शिलान्यास भएको थियो ।
सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सकारेको थियो ।
कोभेकले यसअघि भेरी बबई डाइभर्सनको समेत टिविएम मेसिन प्रयोग गरेर सुरुङ निर्माण सम्पन्न गरेको थियो ।
यहाँको १३ दशमलव तीन किलोमिटर सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै ब्रेक थ्रु गर्न लागिएको आयोजनाका प्रमुख बरालको भनाई छ । एकै दिनमा ७२ मिटरसम्म खनिएको सुरुङभित्र सुक्खा पहिरो र लेदो सहित पाखै खस्दा यस अघी ६ पटक सम्म अवरोध भएको थियो ।
आयोजनामा उच्च प्रविधिबाट ५÷५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग गरिएको छ । आयोजना अन्तरगत कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिनेछ ।
सुनकोसी नदीमा बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको पाएको छ । पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ ।
सुनकोशी र तामाकोशीको संगमस्थल बाट सय मिटर तल सुनकोसी गाउँपालिका ७ कानढुंग्रीमा सुनकोशी नदीमा बाँध निर्माणको काम सुरु भएको छ । बाँध निर्माण थालिएको १६ महिनाअघि हो । ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माणलगायत काम गर्न पटेल–रमण जेभीले १२ अर्व रुपैयाँमा ठेक्का लिएको हो ।
आयोजनाले सुरुङबाट पानी मरिण खोलामा खसालेपछि कुसुमटारदेखि वाग्मतीसम्मको ४४ किलोमिटर क्षेत्रलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम सुरु गरिएको छ । तराई मधेशको लाफलाइन तथा इकोनोमिक गेम चेन्जरको रुपमा लिइएको आयोजनाकोे इलेक्ट्रो मेकानिकलको खरिद प्रक्रिया सुरु भएको छ भने ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए ।
४९ अर्ब ४२ करोड कुल लागत रहेको आयोजना निर्माणमा हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ । बुधबार हुने आयोजनाको ब्रेक थ्रुका लागि प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरु, बागमती प्रदेशका मुख्यमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री, प्रतिनीधि सभाका सदस्यहरु, मन्त्रालयका सचिवहरु सहभागि हुने कार्यक्रम रहेको छ ।



