सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको छ ।
सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङ स्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएसंगै पालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तिहरुमा सोमबारबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सन्चालनमा आएसंगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत सेवा पुगेको हो ।
गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन् । अव बाँकी ३ प्रतिसत अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न बाँकी छ ।
यस अघि गाउँपालिकाका दुर्ग क्षेत्रका नागरीक राष्ट्रिय प्रशारण लाईनबाट बन्चित थिए ।
गाउँपालिकाले एसियाली विकास बैंक (एडिवी) संगको सहकार्यमा गाउँपालिकाको विद्युत सेवा नपुगेका स्थानमा चालु आर्थिक वर्षमा पोल तार, तथा ट्रान्समिटर जडान गरेर विद्युत सेवा विस्तार गरेको हो ।
‘गाउँपालिकाका बाँकी रहेको ३ प्रसित अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न बाँकी रहेको र ति घरहरुमा पनि आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्रमै विद्युत सेवा पु¥याउने गरी काम भईरुहेको छ,’ उनले भने ।
राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा नहुँदा सर्वसाधरणहरु सोलार तथा टुकी वत्तिको भरमा थिए । तर गाउँपालिकाले विद्युत लाइन विस्तारलाई प्रथमिकतामा राखेर काम गर्दा यति छिट्टै ९७ प्रतिसत घरधुरीमा विजुली वत्ति पुगेको उनले थपे ।
उपाध्यक्ष न्यौपानेका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा १३ घरधुरी, वडा नम्बर २ मा ३२, वडा नम्बर ३ मा ४०, वडा नम्बर ४ मा १५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा २० र वडा नम्बर ७ मा ५ घरधुरीमा मात्र अव विद्युत सेवा पुग्न बाँकी छ ।
‘यि घरहरुमा पनि गाउँपालिकाले आउँदो दशैसम्ममा विद्युत जडान गर्नेगरी काम गरिरहेको छ । आउँदो दशैंसम्ममा पालिकालाई अध्यारो मुक्त पालिका घोषणा गरिने छ,’ न्यौपानेले भने ।
उता गोलन्जोर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोमप्रसाद बरालले सोमबारबाट वडाको भवानीथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएपछि स्थानीयहरुमा खुसीयाली छाएको जनाएका छन । अध्यक्ष बरालले विद्युत सेवा परिक्षणमै रहेकाले स्थानीयलाई सावधानीपूर्वक विद्युत सेवा उपयोग गर्न समेत आग्रह गरेका छन् ।



