सिन्धुली । सिन्धुली प्रहरीले जिल्लामा पहिलो पटक लागु पदार्थ सेवन परिक्षण सुरु गरेको छ ।
बनेपा–सिन्धुली–बर्दीवास (विपी) राजमार्गमा संचालन हुने सवारी साधनका चालक र सहचालकहरुले लागु औषध तथा मादक पदार्थ सेवन गरेको नगरेको परिक्षण सुरु गरिएको हो ।
शुक्रबारबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा लागुऔषध सेवन परिक्षण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवाल जानकारी दिए ।
राजमार्गमा संचालन हुने सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्य अनुरुप कमलामाई ९ भिमान स्थित अस्थाई ट्राफिक प्रहरी पोष्टमा लागु औषध सेवन परिक्षण सुरु गरिएको हो ।
‘उक्त कार्यक्रम अन्तरगत शुक्रबार मात्र विपी राजमार्गमा भई चल्ने विभिन्न सवारी साधनका चालकहरुलाई पहिलो पटक लपसे चेक जाँच गरिएको हो,’ उनले भने ।
कटुवालका अनुसार शुक्रबार ३८ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गर्दा एक जना बस र एक जना ट्रक चालक गरी दुई जना सवारी चालक र एक जना बसको सहचालकले लागु औषध सेवन गरी सवारी चलाएको पुष्टि भएको थियो ।
यसरी लागु औषध सेवन गर्ने चालक र सहचालकलाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको समेत उनको भनाई छ ।
सिन्धुली जिल्लामा पहिलो पटक गरिएको यस कार्यक्रममा कमलामाई नगरपालिका उपमेयर मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकरी भरत खनाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्ल, जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख मन्जु कुमारी राना समेतको उपस्थिती रहेको थियो ।




