सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि खुल्ला बहस गरिएको छ ।
पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको सन्दर्भमा विद्यार्थी संगठनको आयोजनामा गुणस्तरिय शिक्षाका लागि बहस गरिएको हो ।
शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मरिण गाउँकमिटिको आयोजनामा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा खुल्ला बहस गरिएको हो ।
कार्यक्रममा संघिय सांसद, मरिण गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा प्रमुख, राजनितिक दल, विद्यार्थी संगठन तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले सामुदायिक विद्यालयमा शैक्षिक सुधार हुन नसक्नुमा मुख्यकारण ५३ वर्ष पुरानो शिक्षा ऐन भएको बताए ।
‘हामी अहिले समाजवाद शिक्षाको कुरा गर्छौं तर शिक्षा प्रणालीभने ५३ वर्ष पुरानै छ । यसलाई परिमार्जन गरेर नयाँ शिक्षा ऐन लागु गर्दै शिक्षण विधी र मुल्यांकन प्रणालीनै परिवर्तन नगरि शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिन्न,’ उनले भने ।
अहिलेको शिक्षा अंग्रेजी भाषामा मात्र केन्द्रीत भएको उल्लेख गर्दै भाषा शिक्षामा भन्दापनि बजारमा विक्ने र टिक्ने खालको संस्कार सहितको जिवनउपयोगि ज्ञान आवश्यक भएको सांसद दाहालको भनाई छ ।
उनले विद्यालयका विद्यार्थीहरुको मात्र मुल्यांकन प्रणालीले उपयुक्त परिणाम नदेखिएको भन्दै विद्यालयले वार्षिक क्यालेण्डर बनाएर शिक्षक÷शिक्षक विच र विद्यार्थी÷विद्यार्थी विच आन्तरिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरी मुल्यांकन गर्ने विधिको विकास गर्नुपर्नेमा समेत जोड दिए । सांसद दाहालले शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल र सरकार विचको उचित समन्वय नहुँदा समेत प्रगति गर्न नसकिने स्पष्ट पारे ।
कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले गाउँपालिकाको वार्षिक बजेटको आधा रकम शिक्षा क्षेत्रमै खर्च हुने गरेको भएपनि शैक्षिक मुल्यांकनमा कमजोरी देखिनु दुःखदायी भएको बताए ।
उनले भने, ‘हामीले मरिणको शैक्षिक सुधारका लागि ठुलो रकम खर्चिएका छौं । विद्यालयमा भौतिक सुधार देखि शिक्षक जनशक्ति व्यवस्थापन, विद्यार्थीहरुलाई प्रोत्सहान, माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्थापन गरिएपनि परिक्षा प्रणालीमा निरासाजनक परिणाम आउने गरेकोे छ । यसलाई सुधार्न स्थानीय सरकारले केके गर्नुपर्छ सबै गर्न तयार छ ।’
मरिण गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज बरालले शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिको कमजोरीका कारण सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन नसकेको उल्लेख गरे ।
‘विद्यार्थीमा सिक्न चाहने इच्छाशक्तीमा कमी, शिक्षकहरु चिन्तनशिल र निष्ठावान हुन नसक्नु, शैक्षिक सामाग्रीको प्रयोगमा कमी, कुशल प्रअ र व्यवस्थापन समिति छनौट गर्न नसक्नु, अभिभावकमा चासो कम हुनु र विषयगत शिक्षक र तहगत दरबन्दीको अभाव हुनुले सामुदायिक विद्यालयमा सोचेजस्तो परिणाम आउन सकेको छैन,’ उनले भने ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज अमृतसिं घिसिङले परिक्षा प्रणालीमा पास भए गुणस्तर र फेल भए गुणस्तरहिन शिक्षा भन्ने मानसिकताका कारण सामुदायिक शिक्षाको अवस्थामा सुधार आउन नसकेको बताए ।
परम्परागत शिक्षणविधि र पाठ्यक्रमका कारण पनि गुणस्तर र परिणाममुखी नतिजा आउन नसकेको उल्लेख गर्दै घिसिङले भने, ‘स्पष्ट निति, स्थानीयतहको अधिकार र कार्यान्वयन, परिक्षा र मुल्यांकन प्रणालीमा सुधार, विद्यार्थी र कक्षाका आधारमा दरबन्दीको व्यवस्थापन गर्न नसक्दा पनि सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सकेको छैन यसतर्फ सबै सरोकारवालाहरुले समयमानै ध्यानदिन जरुरी छ ।’
नेपाल शिक्षक महासंघका अध्यक्ष तेजबहादुर गुर्मछानले शैक्षिक क्षेत्रमा दलिय हस्तक्षेप, प्रयाप्त शिक्षक दरबन्दीको अभाव, सुविधायुक्त स्थानमा मात्र शिक्षकहरुको सरुवा, शिक्षक नेताका प्रभावका कारण पनि शिक्षा क्षेत्रमा समस्याहरु आउने गरेको बताए ।
उनले सामुदायिक विद्यालयको शिक्षा प्रणालीलाई सुधार गर्न, प्रअ तथा व्यवस्थापन समिति गठनमा दलित हस्तक्षप बन्द गर्ने, आवश्यकता अनुसार दरबन्दी मिलान गर्ने, अतिरिक्त कक्षा संचालन गर्नु आवश्यक रहेको धारणा राखे ।
नेकपा माओवादीका मरिण गाउँ कमिटिका इन्चार्ज पदम बहादुर अस्थानी (शरण) ले शैक्षिक सुधार र गुणस्तरीय नतिजामा सरकार, शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै भुमिका हुने उल्लेख गरे ।
नेकपा एमाले मरिण गाउँकमिटिका उपाध्यक्ष लिला प्रसाद पन्तले आधुनिक प्रविधि, सिप र ज्ञानको प्रयोगले पढनपाठनमा सहयोग पुग्ने भन्दै त्यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको बताए ।
कपिलाकोट माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्सब), नेपाल विद्यार्थी संघ मरिणका प्रतिनिधि रामकुमार आरण लगायत विभिन्न विद्यालयका शिक्षकहरुले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, शिक्षकहरुले दलको सदस्यता त्याग्नुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डीत गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रमका अध्यक्ष तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मरिण गाउँकमिटि अध्यक्ष सुमन रानामगरले कार्यक्रममा गुणस्तरीय शिक्षा, समस्या र समाधान विषयमा आधार पत्र समेत प्रस्तुत गरेका थिए । आधार पत्र माथि उठेका विचार र छलफलको निष्कर्षलाई नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटिका अध्यक्ष काजिमान थिङले टिप्पणी गरेका थिए ।अन्तरक्रिया कार्यक्रममा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) , नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सचिव रामजी काफ्ले, नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका अध्यक्ष शेरबहादुर कार्की लगायत, नेता, शिक्षक, तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
मरिण गाउँपालिकामा सामुदायिक तर्फ ४८ र संस्थागत ४ वटा गरी ५२ वटा विद्यालयहरु रहेका छन् । ति विद्यालयहरुमा ८ हजार २ सय ५६ जना छात्र तथा छात्राहरु अध्ययनरत छन् । गत वर्षको माध्यमिक शिक्षा परिक्षा र कक्षा १२ परिक्षामा निरासाजनक नतिजा आएपछि विद्यार्थीसंगठनहरुलेनै शैक्षिक बहस सुरु गरेका हुन् ।
कार्यक्रमको संचालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मरिण गाउँकमिटिका सचिव सन्तबहदुर बम्जनले गरेका थिए ।









