सिन्धुली । रामेछाप नगरपालिका ९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव सिन्धुलीमा भेटिएको छ । सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ४ गते दिउँसो करिब सभा २ बजे माछा मार्न सुनकोसी नदी तर्फ गएका भुजेल वेपत्ता भएको थिए । गत आइतबारबाट वेपत्ता भएका भुजेलको शव ६ दिनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित वलेनी घाट नजिकै सुनकोसी नदी किनारमा भेटिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए पछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक वसन्त बहादुर भुजेलको कमाण्डमा गएको टोलीले उक्त शव नदी किनाराबाट निकालेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापसंगको समन्वयमा उक्त शव रामेछापका भुजेलको भएको पुष्टि भएको हो ।
उक्त शव भुजेलकै भएको उनका परिवारले समेत पुष्टि गरेका छन् । घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



