सिन्धुली । सिन्धुलीको मरीण गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापका लागि स्मार्ट प्रविधि हस्तान्तरण गरिएको छ ।
स्मार्ट प्रविधिको माध्ययमबाट पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न १८ वटा सामुदायिक विद्यालयहरुलाई (सूचना र सञ्चार प्रविधि (आइसिटी) स्मार्ट प्रविधि हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयमा सूचना र सञ्चार प्रविधि अन्तरगत ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, ई–हाजिरी प्रणाली, तथा स्मार्ट बोर्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।
गाउँपालिकाले यस अघिनै केही नमुना विद्यालयमा आइसिटी प्याकेज हस्तान्तरण गरिसकेको छ । ‘शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी प्रविधिको प्रयोग प्रभावकारी देखिएपछि अन्य विद्यालयहरुमा समेत यस्तो प्रविधिको प्रयोग बढाउने गरी प्रविधि हस्तान्तरण गरिएको हो,’ उनले भने ।
धेरै सामुदायिक विद्यालयमा स्मार्ट प्रविधि प्रयोग गर्ने पालिकामा मरिण जिल्लामै पहिलो पालिका हो । यस्ता प्रविधिलाई गाउँपालिकाले आगामी दिनमा सबै विद्यालयमा विस्तार गर्ने योजना बनाएको उनको भनाई छ ।
गाउँपालिकाका विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीहरुमा समेत उत्साह थपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासको भनाई छ ।
गाउँपालिकाले जनकल्याण आधारभुत विद्यालय बाह्रबिसे, मावि बरुण, कुशेश्वर मावि नकली, आधारभुत विद्यालय लहरेमाइस्थान, जनसाक्षर आधारभुत विद्यालय सालुभञ्ज्याङ, पञ्चकन्या आधारभुत विद्यालय घलानचौर, अन्नपुर्ण आधारभुत विद्यालय दहालडाँडा, आधारभुत विद्यालय लामिदमार फुलबारी, अन्नपुर्ण आधारभुत विद्यालय दधिदमार, आधारभुत विद्यालय पाङ्ग्रेखोला, आधारभुत विद्यालय शिखरडाँडा, मावि खलङ्गा, बालसाक्षर मावि मुङ्ग्रेदोभान, मावि तल््लो खन्जनी घाटा, ठाकुरेश्वर आधारभुत विद्यालय बेतपानी, गौरिशंकर मावि जयमंगल, कपिलाकोट मावि छाप र मावि कात्तिकेलाई प्रविधि हस्तान्तरण गरेको हो ।
यी मध्ये ११ वटा विद्यालयलाई आइसिठी प्याकेज, तिनवटालाई इहाजिरी र चारवटालाई स्मार्ट बोर्ड वितरण गरिएको छ ।
परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन गराउँदा विद्यार्थीहरुलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको यसअघिनै आइसिटी प्रयोग गर्दै आएको मावि मरिण खयरसालका प्रध्यानाध्यापक मानध्वज बम्जनको भनाइृ छ ।
विद्यालयहरुमा स्मार्ट प्रविधि अन्तरगत विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत मद्धत पुग्ने विश्वास गरिएको मरिण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालको भनाई छ ।
‘विद्यालयमा शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थीहरुले आफैँ आइसिटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी हुने छ । गाउँपालिकाले आधारभुत तहदेखि मावि तहसम्मका साुमदायिक विद्यालयहरुलाई शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण सहयोग गर्दै आएको छ,’ उनले भने ।
प्रविधि हस्तान्तरण कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष मुक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत सुन्दास, गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बरका का वडाध्यक्ष कमल बहादुर आले, शिक्षा प्रमुख नवराज बराल लगायत गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।








