Sindhul Dainik

नयाँ वर्षमा बिजुली र सुरुङको आशा

Advertisement

विकास निर्माणको शिथिलता सिर्जित चरम निराशाबीच पनि २०८१ सालमा भने सुरुङ र जलविद्युत् आयोजनाको निर्माणले आशा जगाउनेछ।
राजनीतिक अस्थिरता, विकासमा निराशा तथा अर्थतन्त्रको शिथिलतासहित २०८० सालले बिदा लिएको छ। यो वर्ष सत्ता समीकरणको फेरबदल, प्रदेश सरकारमा भद्रगोल तथा राजनीतिक जोड-घटाउको रस्साकस्सीबीच सरकारको ध्यान विकास र अर्थतन्त्रमा पुगेन। त्यसैले, देशैभरि विकास निर्माणका गतिबिधि लथालिङ्ग भए भने अर्थतन्त्रको गति निराशाजनक रह्यो।
राष्ट्रिय गौरव भनिएका आयोजनाकै गति सुस्त भयो। लामो समयदेखि अड्किएका सिक्टा, बबई, रानीजमरा कुलरियासहितका सिंचाइ आयोजनाले बितेको वर्ष पनि गति पाएनन्। प्रस्तावित बुढीगण्डकी वा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको स्रोत व्यवस्थापन गर्नै चुनौतिपूणर् छ भने प्रगति भएन।
हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गसहित विभिन्न करिडोर, नारायणगढ-बुटवल, मुग्लिन-पोखराजस्ता सडकखण्डको ढिलाइ यथावत रह्यो। चक्रपथ विस्तारको काम गत वर्ष पनि अघि बढेन।
काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख मार्ग भत्किएका छन् भने ठाउँठाउँमा खाल्डाखुल्डी छन्। सूर्यविनायक-धुलिखेल, बालाजु-त्रिशुली लगायत सडकखण्ड भद्रगोल अवस्थामा छन्। देशको प्रमुख राजमार्गको निर्माण गति सुस्त हुँदा आम नागरिकले हैरानी खेप्नु परिरहेको छ।
जस्तोसुकै निराशाबीच पनि सम्भावना लुकेकै हुन्छ, कालो वादलमा चाँदीको घेराका रुपमा। २०८१ सालमा केही पूर्वाधार परियोजनामा आशालाग्दो परिणाम पनि देख्न पाइनेछ। धीमा नै सही, कयौं वर्षअघिदेखि निर्माण भइरहेका कतिपय पूर्वाधार आयोजना २०८१ सालभित्रै सकिँदै छन्, अथवा ‘ब्रेक थ्रु’ हुनेछन्, जसले अर्थतन्त्रको गति अघि बढाउन मद्दत गर्नेछ, नागरिकको जीवन सहज पार्नेछ। यसले केही सुधार पनि भइरहेको छ भनेर नागरिकमा उत्साह जगाउनेछ।
नयाँ वर्षको शुरूआतसँगै ‘ब्रेक थ्रु’ हुनेछ, नागढुंगा सुरूङमार्ग। साढे चार वर्षअघि निर्माण शुरू भएको दुई हजार ६६६ मिटर लामो यो सुरूङमार्ग वैशाख पहिलो साता नै छिचोलिएसँगै नागढुंगा उकालोमा सवारी साधनको जाम नहुने मात्रै होइन, नेपालमा सडक सुरूङमार्गको नयाँ परीक्षण शुरू हुनेछ।
यद्यपि, निर्माणका बाँकी काम फत्ते गरेर यो मार्ग हुँदै सवारी साधन कुद्न भने अझै एक वर्ष नै कुर्नुपर्ने अनुमान छ। जापान सरकारको साढे १६ अर्ब रुपैयाँ ऋण र नेपालको ६ अर्ब ऋणमा बन्दै गरेको यो नेपालकै पहिलो सडकमार्गको हिस्साका रुपमा सवारी चल्ने सुरूङमार्ग हुनेछ।
सुनकोशी-मरिन डाइभर्सन आयोजना ।
तराईमा सिचाइँका लागि निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन सुरूङको निर्माणको गतिले पनि आउने वर्ष परिणाम निकाल्नेछ। १३.३ किलोमिटर लामो यो सुरुङमार्ग खन्न अब थोरै मात्रै बाँकी छ। कमलामाई नगरपालिकादेखि सुनकोशी गाउँपालिकासम्म बनिरहेको सुरुङमार्ग एक महीनाभित्रै छिचोलिने अनुमान गरिएको छ।
यो सुरुङले सुनकोशी नदीको पानी मरिनमा पुर्‍याएर धनुषा, सर्लाही, महोत्तरी, रौतहट र बारासम्मका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउनेछ। यद्यपि यो आयोजना पूणर् रुपमा सकिने भने कम्तिमा अझै तीन वर्ष लाग्ने अनुमान छ। यो आयोजनाको जम्मा लागत ५० अर्ब छ।
पाल्पाको सिद्धबाबा सुरुङ पनि २०८१ सालभित्रै छिचोलिने सडक विभागको समय तालिका छ।
जलविद्युत्का केही महत्त्वपूणर् आयोजनाको निर्माण २०८१ सालभित्रै सकिँदै छ। त्यसमध्ये एक हो, रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना। ११ वर्षअघि निर्माण शुरू भएको यो आयोजनाको अहिले अन्तिम परीक्षण जारी छ, केही साताभित्रै यसबाट उत्पादन शुरू गर्ने तयारी छ।
रसुवागढी जलविद्युत् आयोजना।
यो आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन गर्नेछ। तर यसको प्रसारण लाइनको निर्माण भने सकिएको छैन। एकाध महीनाभित्र प्रसारण लाइनको निर्माण सकेर आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

रसुवामै निर्माणाधीन ४२.५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि परीक्षण जारी छ। केही समयभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ।
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको पनि परीक्षण भइरहेकाले आगामी वर्षभित्र उत्पादन शुरू हुने अनुमान छ। गत माघ महीनादेखि नै यो आयोजनको परीक्षण शुरू गरिएको भए पनि सुरुङमा पानी चुहिने समस्या देखिएको थियो।
मध्य भोटेकोशी जलविद्युत् आयोजना।
सबस्टेशन, प्रसारण लाइनको निर्माण सकेर यो आयोजनाबाट आगामी असार महीनादेखि विद्युत्को व्यावसायिक उत्पादन गर्ने तयारी रहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी बताउँछन्। “सुरुङको परीक्षणमा केही समस्या देखिएकाले समाधानका लागि काम भइरहेको छ। सबस्टेशनको पनि निर्माण अन्तिम चरणमा पुगेकाले आगामी असारदेखि उत्पादन थाल्ने योजनामा छौं,” शिवाकोटाी भन्छन्।
निजी क्षेत्रले सोलखुम्बुमा निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् पनि व्यावसायिक रुपमा आगामी वर्ष उत्पादन शुरू हुनेछ। यो आयोजना आगामी वर्ष निर्माण सकिने स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामा बताउँछन्। २०७३ सालमा निर्माण थालिएको यो आयोजनाको अधिकांश निर्माण सम्पन्न भइसकेको छ।
म्याग्दीमा निर्माणाधीन ३७.५ मेगावाटको मंगले राहुघाट तथा ४८.५ मेगावाटको माथिल्लो राहुघाट आयोजनाको पनि निर्माण सम्पन्न हुने क्रममा छ। यी आयोजनाको अधिकांश पूर्वाधार निर्माणको काम सकिएकाले आगामी वर्षदेखि उत्पादन शुरू हुने जनाइएको छ।
माथिल्लो राहुघाट आयोजना।
म्याग्दीकै ४०.७ मेगावाटको निलगिरी प्रथम जलविद्युत् आयोजनाको पनि निर्माण आगामी वर्ष सकिँदै छ। ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाटको मध्य मेवा खोला जलविद्युत् आयोजना पनि यही वर्षभित्र सकिनेछ।
त्यस्तै, दोलखामा निर्माणाधीन ३० मेगावाटको खानीखोला जलविद्युत् आयोजनाको निर्माण पनि आगामी वर्ष सकिने समयतालिका रहेको स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्था इप्पानले जनाएको छ। यी सबै जोड्दा २०८१ सालभित्र जलविद्युत् उत्पादनमा थप एक हजार मेगावाट विद्युत् थपिने इप्पानका उपाध्यक्ष लामा बताउँछन्।
मध्य मेवा खोला जलविद्युत् आयोजना।
अहिले देशको विद्युत् उत्पादन क्षमता करीब दुई हजार ९०० मेगावाट पुगेको छ। थप तीन हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्। “अबको तीन वर्षमा हरेक साल एक हजार मेगावाट हाराहारीका आयोजनाको निर्माण सकिन्छ,” उपाध्यक्ष लामा भन्छन्, “जलविद्यु्त् उत्पादनका दृष्टिले यो ठूलो उपलब्धि हो।” हिमाल खबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...